सरकारी निवासमा आगजनीको अभियोगमा पालिकाका हाकिम पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारी निवासमा आगजनीको अभियोगमा पालिकाका हाकिम पक्राउ


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आगजनी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले पालिकाले दिएको जाहेरीको आधारमा उनी पक्राउ परेको र अनुसन्धान भइरहेको बताए ।

गाउँपालिकाको सरकारी निवासमा आगजनी भएको विषयमा गाउँपालिकाले आइतबार प्रहरीमा जाहेरी दिएको थियो । सोही दिन नै उनी पक्राउ परेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जाहेरी दिन नमानेपछि गाउँपालिका उपाध्यक्ष शर्मीला कुमारी चन्द सिंहसहित दुई जना वडाध्यक्षले प्रहरीमा जाहेरी दिएका थिए । उपाध्यक्ष सिंहले भनिन्, ‘पालिकाको तर्फबाट उहाँले जाहेरी दिन नमानेपछि हामीले प्रहरीमा जाहेरी दिएका हौँ ।’

गत फागुन २४ गते राति निवासमा आगजनी भएको थियो । आफू सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण र आगजनी गरेको भन्दै अधिकारी नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेका थिए । तर, प्रहरी अनुसन्धानमा उक्त घटना गराउन कुनै वाह्य व्यक्ति संलग्न भएको भेटिएन ।

गाउँपालिका अध्यक्ष जमन सिंह धामीले उक्त घटना प्रमुख प्रशासकीय अधिकृतबाटै घटाइएको हो भन्ने अनुसन्धानले देखाएपछि पालिकाले प्रहरीमा जाहेरी दिएको जानकारी दिए । सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै गाउँपालिकाले जाहेरी दिएपछि त्यसकै आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

अधिकारी २०८० भदौमा मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।

सम्बन्धित समाचार : सुतिरहेको अवस्थामा प्रशासकीय अधिकृतमाथि आक्रमण प्रयास

Tags :
प्रतिक्रिया दिनुहोस