प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौतहटको ईशानाथ नगरपालिका-५ मा श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्तासहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले अनुसन्धान गर्दा उनीहरूले अनियमितता गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीत भवन निर्माण गरेको आयोगको दाबी छ । प्रतिवादी बनाइएका नगरपालिका तत्कालीन इन्जिनियर सत्यपाल सौरभले ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा बढी भुक्तानी गर्न बिल पेश गरेका थिए ।

अर्का प्रतिवादी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार ९ सय कार्य बराबरको रकम खर्च भएको देखिएपनि उनले दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ। आयोगका प्रवक्ता घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरले १३ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बढी खर्च लेखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस