बालेनले कर्मचारीलाई भने-सफा नियतले काम गर्दा कसैसँग डराउनु पर्दैन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालेनले कर्मचारीलाई भने-सफा नियतले काम गर्दा कसैसँग डराउनु पर्दैन


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नियत सफा राखेर काम गर्दा कसैसँग डराउन नपर्ने बताएका छन् । आइतबार महानगरपालिकाका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षको छ महिनाको अर्धवार्षिक प्रगति समीक्षा गर्दै मेयर बालेनले गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिने बताएका हुन् । 

उनले विभागीय कर्मचारीहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन समेत गरेका छन्।

‘गलत गर्नुहुँदैन । फेरि गल्ती गर्नेलाई कारबाही गर्नैपर्ने हुन्छ । तर हामीले राम्रो गर्नेलाई प्रोत्साहन पनि गर्दै आएकै छौँ,’ उनले भने, ‘गएको वर्षको तुलनामा यसबर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, त्यो हेर्नुपर्छ । काम भइसकेपछि भुक्तानी रोकिरहन आवश्यक छैन ।’

मेयर बालेनले वर्षौसम्म काम गरिरहेका कर्मचारीहरूको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने बताए । ‘धेरै कार्यक्रमहरूमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर हामीले महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन गर्ने जिम्मेवारी विभागीय प्रमुखहरूको हो, यसलाई प्राथमिकता राख्नुहोला,’ मेयर शाहले निर्देशन गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस