मुख्यमन्त्री जम्कट्टेलले नेमकिपासँग मागे विश्वासको मत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री जम्कट्टेलले नेमकिपासँग मागे विश्वासको मत


४ चैत्र २०८०, आइतबार


काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री जम्कट्टेल, बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग भक्तपुरमा भेटेर सरकार गठनमा सघाउन अनुरोध गरेका हुन् ।

नेता गोसाईंले नेमकिपासँग मुख्यमन्त्रीले विश्वासको मत मागेको बताए । तर आफूले विगतका राजनीतिक घटना सम्झाएर सुझाव दिएको उनले जानकारी दिए ।

गोसाईंले दुरदर्शी ढंगमा सरकारले काम गर्ने एजेण्डा ल्याए विश्वासको मतबारे सोच्न सकिने बताए । नेमकिपा योजना र बजेटमा केन्द्रित भएर बार्गेनिङमा नलाग्ने पनि उनले बताए ।

नयाँ सत्ता समीकरण बनेपछि २३ फागुनमा नेपाली काँग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि जम्कट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ । तर वर्तमान सत्ता गठबन्धनको नेकपा एमालेसँग २७, माओवादीसँग २१ र नेकपा (एकीकृत समाजवादी)को ७ गरेर जम्मा ५५ सिट पुग्छ । यो समीकरणमा बहुमतका लागि नेमकिपाको ३ वा हाम्रो नेपाली पार्टीको २ मत निर्णायक छ । बागमतीमा राप्रपाको सभामुखबाहेक १२ मत छ । प्रदेश सभामा काँग्रेसका ३७ सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस