संघीयता कार्यान्वयनका सम्बन्धमा तीनै तहका पदाधिकारीहरूबीच अन्तरक्रिया « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संघीयता कार्यान्वयनका सम्बन्धमा तीनै तहका पदाधिकारीहरूबीच अन्तरक्रिया


१ चैत्र २०८०, बिहिबार


रुपन्देही । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयनका सम्बन्धमा तीनै तहका पदाधिकारीहरूसँग अन्तरक्रिया एवं छलफल गरेको छ । संघीयता कार्यान्वयनका हालसम्मका उपलब्धिहरूबारे मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका पदाधिकारीहरूसँग अन्तरक्रिया गरेको हो ।

रुपन्देहीको भैरहवामा बिहीबार सम्पन्न कार्यक्रममा तीनै तहका निकायहरूले संघीयता कार्यान्वयनका लागि गर्न बाँकी कामहरूको पहिचान र निक्यौल कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो । संघीयता कार्यान्वयनमा देखिएका उपलब्धिहरू, बाँकी रहेका कामहरूलाई कसरी सम्पन्न गर्ने, आगामी कार्यदिशा कसरी बनाउने लगायतका विषयमा छलफल भएको मन्त्रालयका सह-सचिव सुमन दाहालले जानकारी दिए ।

संघीयता कार्यान्वयनका क्रममा देखिएका भोगाइहरूलाई संकलन गर्ने र तिनमा रहेका सवालहरूमा निखार ल्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले प्रशासनिक संघीयता र कर्मचारी प्रशासनका विषयमा छलफल गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयको टिम, लुम्बिनी प्रदेशका सचिवहरू, प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस