प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

शौचालय निर्माण कार्यमा अनियमितता गरेको आरोपमा दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । 

उनीहरूले १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा तामाकोसी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, लेखा अधिकृत विजय लुइँटेल, इन्जिनियर सुबोधकुमार चापागाईँ, लेखापाल रामबहादुर कार्की, सब-इन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, तामाकोसी-१ का तत्कालीन वडाध्यक्ष महेश्वर काफ्ले, वडा नम्बर-४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा नम्बर-३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्ले छन् ।

तामाकोसी-३, जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस