मन्त्री र मन्त्रालय बाँडफाँट टुंग्याउन दलहरू आन्तरिक छलफलमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्री र मन्त्रालय बाँडफाँट टुंग्याउन दलहरू आन्तरिक छलफलमा


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । सत्ता गठबन्धन दलका नेताहरू गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउन आन्तरिक छलफलमा छन् । पार्टीभित्र क–कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरूभित्र छलफल चलिरहेको छ । 

गठबन्धनमा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन् । प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार दलले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित अन्य साना दलहरुलाई समेत गठबन्धनमा सामेल गराउने प्रयास गरिरहेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराएर अघि बढ्न जोड दिएका छन् । गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार साँझ दोश्रोपटक भेट गरे । बुधबार बिहानै उनले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका छन् । 

मंगलबार साँझको भेटमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूलाई लिएर कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । 

प्रधानमन्त्री दाहालको आग्रहमा एकीकृत समाजवादीले बुधबार मध्यान्हसम्मको समय मागेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि त्यतिञ्जेल समय माग गरेको नेताहरुले जनाएका छन् । 

सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दैछ । सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँट कार्यदल पनि छलफलमै छ । 

मंगलबार कार्यदलमा केहीबेर छलफल भएपनि गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति भएको छैन ।  ‘सबैको चासो गृह र अर्थमा छ । अझ मुख्यगरी गृह मन्त्रालयमा सबैको दाबी परेको छ,’ कार्यदलका एक सदस्यले भने । 

बुधबारसम्म गठबन्धनमा सामेल हुने दलहरूको टुङ्गो लाग्ने र त्यसपछि मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउने तयारी छ । ‘को को सरकारमा सहभागी हुने भन्ने टुंगिए लगत्तै मन्त्रालयको बाँडफाँटको टुङ्गो लाग्छ । सबैलाई मिलाएर लैजाने विषयमा प्रधानमन्त्रीज्यूले सकारात्मक पहल लिनुभएको छ, त्यसमा पनि बामपन्थी एकतामा उहाँको जोड छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘सरकारमा सहभागी हुने दलको टुङ्गो लागेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

काँग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालको क्याबिनेटमा माओवादी, एमाले र रास्वपाबाट एक-एक जनालाई मात्रै मन्त्रीहरू छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस