दुई कम्पनीका तीन औषधि बिक्रीमा रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई कम्पनीका तीन औषधि बिक्रीमा रोक


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरको फेला पारेको छ ।

लोमस फर्मास्यूटिकल्स प्रालिको उत्पादित दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला पारेको हो । विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा न्यून गुणस्तरका भएको जनाएको छ ।

प्रयोगशाला परीक्षणका क्रममा लोमसबाट उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको छ ।

न्यून गुणस्तरको पाइएपछि ती औषधि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।

‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा न्यून गुणस्तर पाइएको विभागले जनाएको छ ।

यसैगरी, विभागले परीक्षणका क्रममा फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरको भएको पुष्टि गरेको छ । सो औषधिको ब्याच नम्बर २२/०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।

विभागका अनुसार, बजार अनुगमनपछि शंका लागेर ती औषधिको नमूना परीक्षण गरिएको थियो । बजारमा पठाइएका औषधि गुणस्तरहीन रहेको पुष्टि भएसँगै विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस