सुदूरपश्चिम प्रदेशमा दलको नेता हटाउनु गलत भएको माओवादी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिम प्रदेशमा दलको नेता हटाउनु गलत भएको माओवादी ठहर


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा दलका नेता खटराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने कामलाई गलत भएको ठहर गरेको छ ।

पार्टीको १०, १३, १५ र १६ फागुनमा बसेको स्थायी कमिटी बैठकले दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गर्दै उक्त निर्णयमा सहभागीहरूको आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहोर्‍याउनका लागि सचेत गराउने निर्णय गरेको हो ।

‘सुदूरपश्चिम प्रदेशसभा दलको नेता परिवर्तनको सन्दर्भमा सम्बन्धित तहको पार्टीको निर्णय विना प्रदेशसभा दलले गरेको दल नेता परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरियो । अतः सो निर्णयमा सहभागी कमरेडहरूलाई कडा आलोचना गरी आगामी दिनमा त्यस प्रकारको गल्ती नदोहोर्‍याउनका लागि सचेत गराउने निर्णय गरियो’, माओवादीले जारी गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरेको छ ।

माओवादीले सुदूरपश्चिम प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएर भट्टलाई पार्टीको इन्चार्जबाट समेत हटाउने निर्णय गरे पनि सर्कुलरमा भने उक्त निर्णय गरेको हो ।

पार्टीले प्रदेशसभामा भएको उक्त निर्णयलाई वैधानिकता दिएको भन्दै उपमहासचिव जनार्दन शर्मा र स्थायी समिति सदस्य समेत रहेका भट्टले फरक मत राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस