पूर्वाधार सचिव शर्माले भने-बजेटको सिलिङ नबढाए नयाँ योजना ल्याउन सकिँदैन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वाधार सचिव शर्माले भने-बजेटको सिलिङ नबढाए नयाँ योजना ल्याउन सकिँदैन 


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/०८२ मा बजेटको सिलिङ नबढाए नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१/०८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडि बढाउन सकिने बताएका हुन् ।

उनले बजेटको सिलिङ बढाउने विषय सरकारको सिद्धान्त र प्राथमिकतामा नखुलेको भन्दै आर्थिक वर्ष २०८१/०८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताए । नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको उनको भनाइ थियो ।

उनले १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनाहरूलाई बजेट छुट्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सिलिङ नथपिएमा नयाँ काम केही पनि गर्न नसकिने बताए ।

उनले बजेट नहुँदा काम गर्न सक्ने अवस्था नहुने भन्दै पूर्वाधार समितिमा आफू निरीह रहेको बताए । ‘मैले मेरो निरीहता यहाँ प्रस्तुत गरेँ । मैले सिलिङभन्दा बाहिर गएर त बजेट बाँड्न सक्दिनँ । अहिले जुन सिलिङ आएको छ, यो आधारमा आगामी वर्ष नयाँ योजना समावेश गर्न सकिँदैन, ‘उनले भने, ‘यति बजेट पुरानै आयोजनाको क्लियरेन्समै अपुग हुनसक्छ ।’

उनले पूर्वाधार मन्त्रालयको अवस्था पौडी खेल भनेर हात खुट्टा बाँधिदिएको जस्तै भएको बताए । उनले चालु आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस