वुमन्स प्रिमियर लिग : युपी वारियर्सको जित, मुम्बईको पहिलो हार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वुमन्स प्रिमियर लिग : युपी वारियर्सको जित, मुम्बईको पहिलो हार


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा युपी वारियर्सले पहिलो जित निकाल्दा मुम्बई इन्डियन्सले पहिलो हार व्यहोरको छ । बुधवार राति भएको खेलमा १६२ रनको लक्ष्य युपीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित निकालेको हो ।

मुम्बई इन्डियन्सकी नियमित कप्तान हरमनप्रीत कौर र तीब्र गतिकी बलर शबनम इस्माइल घाइते भएका कारण नखेल्दा त्यसको फाइदा युपीले मज्जाले उठायो । पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो ।  

युपी वारियर्सकी कप्तान एलिसा हिलीले टस जितेर पहिले बलिङ रोजेकी थिइन् । तर, मुम्बईका ओपनर यास्तिका भाटिया (२६ रन) र हेली म्याथ्युज (५५ रन)ले ५० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात गराए भने दोस्रो विकेटका लागि पनि हेली म्याथ्युज र कप्तान नेट सिभरबीच बलियो साझेदारी भएको थियो । 

ब्रन्ट (१९ रन) सँग ४२ रनको साझेदारी भयो । मध्यक्रममा मेलिया केरले २३ रन, पूजा वस्त्राकारले १८ रन र इज्जी वोङले १५ रनको महत्त्वपूर्ण इनिङ्स खेल्दै टोलीको स्कोर १५० भन्दा माथि पुर्‍याइन् । युपीका लागि सबै पाँच जना बलरले एक एक विकेट लिए ।

१६२ रनको चुनौतीपूर्ण लक्ष्य यूपीका ओपनिङ ब्याटरले सानो साबित गरेका थिए । यस प्रतियोगितामा एलिसा हिलीसँगै पहिलो पटक ओपनिङमा आएकी किरण नवगिरेले तुफानी शैलीमा ब्याटिङ गरिन् । दुवै ब्याटरले पहिलो विकेटका लागि ९४ रन जोडे । किरण नवगिरेले ३१ बलमा ६ चौका र ४ छक्का सहित ५७ रन बनाइन् भने एलिसा हिलीले ३३ रनको महत्त्वपूर्ण इनिङ खेलिन् । 

पहिलो विकेट गुमेपछि युपीले अर्को विकेट तुरुन्तै गुमायो । ताहिला म्याकग्रा १ रन बनाएर आउट भइन् । तर, ग्रेस ह्यारिस र दीप्ती शर्माले ६५ रन जोडेर वारियर्सलाई प्रतियोगितामा पहिलो जित दिलाए । दिप्ती शर्माले २७ रन र ग्रेस ह्यारिसले ३८ रनको उत्कृष्ट इनिङ खेले । मुम्बईका लागि इज्जी वोङले सर्वाधिक २ विकेट लिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस