रास्वपाले हटायो तीन प्रदेशका महामन्त्री, कर्णालीमा समिति नै विघटन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रास्वपाले हटायो तीन प्रदेशका महामन्त्री, कर्णालीमा समिति नै विघटन


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ ।

कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको भन्दै जिम्मेवारीबाट हटाइएका हुन् । कर्णालीको प्रदेश समिति र जिल्ला समितिहरूले पनि संगठन विस्तार गर्न नसकेकाले विघटन गरिएको रास्वपाले जनाएको छ ।

कोशीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका थिए । तर पाँच वर्षसम्म भाडा नतिरेको विषय बाहिरिएपछि प्रदेश समितिले स्पष्टीकरण सोधेको थियो ।

चित्तबुझ्दो जवाफ नदिई सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रदेश समितिले थापालाई हटाएको हो ।

त्यस्तै गण्डकी प्रदेशका महामन्त्री अशोक खड्कालाई समय नदिएको, कार्यसम्पादन कमजोर भएको, गुट निर्माण गरेको लगायत आरोपमा ५ मंसिरमा बर्खास्तीमा परेका थिए । अहिले गण्डकीको महामन्त्रीको भूमिकामा नवीन त्रिपाठी छन् ।

६ फागुनमा बसेको रास्वपाको सचिवालय बैठकले कर्णाली प्रदेशको कमिटी नै विघटन गरिदिएको छ । सभापति धिरज वली नेतृत्वको प्रदेश समिति एक वर्ष पूरा गरेलगत्तै विघटनमा परेको हो ।

वलीले संगठन निर्माणलाई गति दिन नसकेको स्विकार्दै केन्द्रमा पत्र लेखेका थिए । कर्णालीमा २८ माघ २०७९ मा प्रदेश समिति गठन गरिएको थियो । कर्णालीका जिल्ला समितिहरू पनि प्रभावकारी नभएपछि विघटन गरिएको रास्वपाले जनाएको छ ।

केन्द्रबाट नै संगठन परिचालन हुने गरी तत्कालका लागि ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने रास्वपाले निर्णय गरेको छ । तीन महिनासम्म अभियान सञ्चालन गरेर जेठ मसान्तसम्म सक्ने रास्वपाले जनाएको छ ।

सुदूरपश्चिम महामन्त्री भोजराज जोशीलाई हटाएर पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । जोशीलाई भने केन्द्रीय विधेयक मन्थन विभागको सदस्य बनाइएको छ ।

उनीमाथि पनि कार्यक्षमता देखाउन नसकेको कारण देखाउँदै हटाइएको छ । कार्यकारी पद भए पनि जिम्मेवारी अनुसार भूमिका निर्वाह नगर्दा हटाउन परेको रास्वपाको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस