बिना निष्कर्ष टुंगियो सिंहदरवारमा मिटरब्याज पीडितसँगको वार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बिना निष्कर्ष टुंगियो सिंहदरवारमा मिटरब्याज पीडितसँगको वार्ता


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । देशका विभिन्न ठाउँबाट पैदल हिँडेर आएका मिटरब्याज पीडित र सरकारबीच आइतबार पहिलो चरणको वार्ता भएको छ ।

गृह मन्त्रालयमा आइतबार साँझ ७ बजेदेखि डेढ घण्टासम्म भएको वार्तामा मिटरब्याज पीडितको मागहरू आफूहरूले सुनेको सरकारी वार्ता टोलीले जनाएको छ ।

वार्ता टोलीमा पीडितको नेतृत्व गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि पर्याप्त नभएको बताएका छन् ।

मिटरब्याज पीडितले यसअघि गरेको आन्दोलनपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । आयोगले पीडितहरूसँग निवेदन आह्वान गर्दा २८ हजार उजुरी परेको थियो । कार्की आयोगले तीमध्ये ५ हजारको मिलापत्र गराएको थियो ।

पुनः भोलि (सोमबार) बिहान ११ बजे छलफलमा बस्ने गरी वार्ताविना निष्कर्ष टुंगिएको छलफलमा सहभागी एक अधिकारीले बताएका छन् ।

मिटरब्याज पीडितको न्यायका लागि भन्दै १६ माघमा पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौँसम्म आएका थिए ।

काठमाडौँ आएपछि पनि उनीहरूको विरोध प्रदर्शन जारी थियो । त्यहीबीच आइतबार मन्त्रालयले वार्ताका लागि भन्दै संघर्ष समितिका अध्यक्ष कुशवाहालाई पत्राचार गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस