जलविद्युतको लाइसेन्स समयानुकूल संशोधन गर्न पहल गर्छु : महानिर्देशक मण्डल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जलविद्युतको लाइसेन्स समयानुकूल संशोधन गर्न पहल गर्छु : महानिर्देशक मण्डल


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यायवाची शब्द नै ऊर्जा भएको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरूसँगको भेटमा महानिर्देशक मण्डलले ऊर्जामा लागेका व्यक्ति र देश सँगसँगै समृद्ध भएमा मात्रै यो क्षेत्र अनन्तकालसम्म सफल हुने बताए। व्यक्ति मात्रै समृद्ध भएर देश समृद्ध नहुँदा कुनै पनि क्षेत्र जुनसुकै बेला पनि धराशायी हुन सक्ने भन्दै समृद्धि को सबैभन्दा ठूलो ढोका नै जलविद्युत् भएको उनको भनाई थियो।

निजी क्षेत्रका सबै समस्याको बारेमा आफू जानकार रहेको बताउँदै मण्डलले ती समस्या समाधान गर्न सकिनेमा पनि विश्वास दिलाएका छन्।

अर्थ मन्त्रालयले आर्थिक ऐन बनाउँदा स्टेक होल्डर कसैसँग पनि सल्लाह नगर्दा त्यसको मारमा निजी क्षेत्र मात्रै नभएर सरकारकै अभिन्न अङ्ग विद्युत् प्राधिकरण पनि परेको उनको भनाई छ। उनले स्पेयर्स पार्ट्समा हटाएको छुटका कारण सिर्जित समस्या समाधानको लागि विभाग, प्राधिकरण र निजी क्षेत्रले एकसाथ पहल गर्नुपर्ने बताएका छन्।

२०६३ सालसम्म १५० रुपैयाँमा जलविद्युत आयोजनाको लाइसेन्स दिएको स्मरण गर्दै मण्डलले लाइसेन्सका व्यवस्था नियमित संशोधन गर्न सकिने व्यवस्था नै भएको बताए। उनले विदेशी लगानीमा बुट मोडलमा आयोजना बनाउने कुरा आएपछि लाइसेन्सको अवधि ३५ वर्ष बनाइएको स्मरण गर्दै ऐनमा भएको व्यवस्थाले यसलाई ५० वर्षसम्म कायम गर्ने कुरामा आफूले पहल गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस