जग्गाको विवरण उपलब्ध गराई दिन ल्हारक्याललाई नगरपालिकाको ताकेता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जग्गाको विवरण उपलब्ध गराई दिन ल्हारक्याललाई नगरपालिकाको ताकेता


११ फाल्गुन २०८०, शुक्रबार


Dr.Lharkyal Lama

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थ राज्यमन्त्री डा. ल्हारक्याल लामालाई जग्गाको विवरण उपलब्ध गराई दिन ताकेता पत्र काटेको छ । गत माघ १४ गते नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले लामालाई पत्र पठाउँदै जग्गाको यथार्थ विवरण माग गरेका थिए । उक्त पत्रको कुनै जवाफ प्राप्त नभएपछि नगर प्रमुख अधिकारीले बुधवार सात दिनको समय तोकेर लामालाई ताकेता पत्र पठाएका हुन् ।

‘यस नगरपालिकाको च.नं. १९५१, मिति २०८०/१०/१४ को पत्र प्राप्त गरी ब्यहोरा अवगत भएकै होला । तत् सम्बन्धमा वडा नम्बर २ स्थित सिट नं. १०२०९०७–१० ९साबिक चपली ८‘क’ सिट नं. १९८०को कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिनू’, बुधवार पठाइएको पत्रमा उल्लेख छ । नगरपालिकाले पठाइएको ताकेता पत्रको बोधार्थ वडा नम्बर २ को वडा कार्यालयलाई पनि पठाएको छ ।

यसअघि माघ १४ मा पठाएको पत्रबारे लामाले कुनै जानकारी उपलब्ध नगराएपछि नगरपालिकाले चेतावनी स्वरूप ताकेता पत्र काटेको हो । लुम्बिनी विकास कोषका उपाध्यक्षसमेत रहेका लामाले निजी निवास बनाउन २ रोपनी १ आना सरकारी जग्गा हडपेको आरोप लागेको छ । नगरपालिकाले लामालाई कत्ति नं. २६ को जग्गासँगै सार्वजनिक जग्गा प्रयोग भए/नभएको यकिन विवरण पनि उपलब्ध गराउन भनेको छ ।

यसअघि नगरपालिकाको २ नं. वडा कार्यालयले लामाले सरकारी जग्गा कब्जा गरे/नगरेको यकिन गर्न नापी कार्यालय र मालपोत कार्यालयबाट आवश्यक कागजात मगाएको थियो । ती कागजात मगाएर अध्ययन गर्दा २ रोपनीभन्दा धेरै सरकारी जग्गा लामाले ओगटेको भेटिएको थियो ।

सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको बुढानीलकण्ठ नगरपालिकाले लामालाई पनि वडा नं। २ मा २ रोपनी १ आना सार्वजनिक जग्गा बारे विवरण उपलब्ध गराउन भनेको हो । ७ दिनभित्र सम्बन्धित व्यक्ति (लामा) सम्पर्कमा नआए नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाउने छ ।

नगर प्रमुख अधिकारीले भने ‘उहाँ (लामा)बाट कुनै जानकारी प्राप्त भएको छैन । अझै एक पटक म्याद दिएर ताकेता गर्छु । तीन पटक पत्र काटे पछि पनि कुनै जानकारी नआएमा कानुनी कारबाही अगाडी बढ्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस