पाठेघरसम्बन्धी शिविरबाट सिञ्जाका दुई सय बढी महिला लाभान्वित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाठेघरसम्बन्धी शिविरबाट सिञ्जाका दुई सय बढी महिला लाभान्वित


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा सञ्चालन भएको पाठेघर तथा क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट दुई सय ५० जनाले स्वास्थ्य जाँच गरेका छन् ।

यहाँका महिलाको स्वास्थ्य तथा पाठेघर जाँचसम्बन्धी स्वास्थ्य शिविर पालिकाले स्वास्थ्य चौकीमै सञ्चालन गरेको हो । शिविरमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जाका स्थानीयबासीलाई गुणस्तरीयता स्वास्थ्य सेवा दिनका लागि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य शिविर गाउँ केन्द्रित गरिने उनले बताए ।

स्वास्थ्य शिविरमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको छ । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलामा प्रजनन स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा सङ्क्रमण भएर क्यान्सर हुने जोखिम हुने गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताए ।

स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर जाँच गरिएका एक सय ४६ जना महिलामा पाँच जनाको पाठेघरमा ‘रिङ’राखिएको छ । तीन जनालाई सर्जरी गर्नुपर्ने देखिएको छ । स्वास्थ्य परीक्षणबाट पाँच जनालाई क्यान्सर भएको शङ्का गरिएको छ । तीनजनामा क्यान्सर सङ्क्रमणको लक्षण देखिएको प्रमुख रोकायाले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस