सुशासन सिकाउने पूर्व सचिव भिम उपाध्याय नै मुछिए भ्रष्टाचारमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुशासन सिकाउने पूर्व सचिव भिम उपाध्याय नै मुछिए भ्रष्टाचारमा


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । भिम उपाध्याय सामाजिक सञ्जालमा चर्चित नाम हो । उनका फेसबुक स्ट्याटस हेर्ने हो भने सुशासन र भ्रष्टाचारविरुद्ध लेखिएका हुन्छन् । 

सुशासन सम्बन्धी कुनै कुरालाई हाई लाइट गर्नुपर्‍यो भने धेरैले फेसबुकमा उनै उपाध्यायलाई मेन्सन गरेर पोस्ट गर्ने गर्दछन् । तर, तिनै सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड अध्यक्ष रहेका बेला उनले भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनी खानेपानी मन्त्रालयको सचिव हुँदा विकास समितिको बोर्ड अध्यक्ष थिए । 

उनीमाथि चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैयाँ ९२ पैसा बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३(१) र ३(१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल हुन एवं निज भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत माग दाबी लिइएको छ ।’

हेर्नुहोस् अख्तियारले दायर गरेको अभियोग पत्र :

अख्तियारले दायर गरेको मुद्दामा उपाध्यायसहित तत्कालीन अन्य तीन सचिव पनि मुछिएका छन् । खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र सचिव गजेन्द्र कुमार ठाकुर मुछिएका छन् । शर्माविरुद्ध करिब सात करोड बिगो माग दाबी गरिएको छ भने ठाकुरविरुद्ध बिगो माग दाबी गरिएको छैन ।

सम्बन्धित समाचार : भीम उपाध्यायसहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुख तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

Tags :
प्रतिक्रिया दिनुहोस