गाउँ गाउँमा विकासका गतिविधि बढाउनु पर्छ : अर्थमन्त्री महत « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गाउँ गाउँमा विकासका गतिविधि बढाउनु पर्छ : अर्थमन्त्री महत


२ फाल्गुन २०८०, बुधबार


नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले गाउँ गाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पुर्‍याउनुपर्ने बताएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले पूर्वाधारको विकास र प्राविधिक एवं आधुनिक शिक्षामार्फत गाउँको विकासमा सरकार केन्द्रित भएको बताए।

“विगत वर्षमा देशको राजनीतिक अन्योलता, भूकम्प, कोरोना महामारीको जोखिमलगायतका कारण विकासको गति अघि बढाउन सकिएन”, मन्त्री महतले भने, “अहिले विकासको रफ्तार सुरु भएकाले गाउँ गाउँमा सडकसहितको पूर्वाधारको विकास र कृषिमा आधुनिकीकरण गरी उब्जनी बढाएर त्यसलाई सहरमा पुर्‍याउनु पर्छ।”

लामो समयसम्म कमजोर बनेको देशको अर्थतन्त्र हाल सुधारको लयमा फर्किएकाले रोजगार र उद्यमशीलता बढ्ने क्रममा रहेको मन्त्री डा. महतको भनाइ थियो। सोहीअनुसार गाउँ गाउँमा पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षामा सरकार केन्द्रित भएकाले उक्त अभियान सफल बनाउन उनले सरोकारवाला सबैलाई आग्रह गरे।

रोजगारी सिर्जना, व्यावसायिक कृषि उब्जनी र समाज परिवर्तनका लागि शिक्षित जनशक्तिको उत्पादन आवश्यक पर्ने मन्त्री डा. महतले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस