एमालेका मागमा सरकार गम्भीर रहेको महसुस : पदम गिरी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेका मागमा सरकार गम्भीर रहेको महसुस : पदम गिरी


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ। एमालेका प्रमुख सचेतक पदम गिरीले पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग भएको छलफल महत्त्वपूर्ण भएको बताएका छन् । 

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफल पश्चात् उनले एमालेले गरेका माग र दिएका सुझावहरू सरकारले गम्भीरतापूर्वक लिएको महसुस भएको सञ्चारकर्मीलाई बताए । 

उनले भने, ‘आज पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग बसेर छलफल गरेका छौँ । आउने बजेट, नीति तथा कार्यक्रमअन्तर्गत हामीले पेस गरेका सुझावहरुलाई पनि सम्बन्धित मन्त्रालयले गम्भीरताका साथ लिएर नीति कार्यक्रम र बजेटमा समावेश गर्ने र देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउने सन्दर्भमा सरकारले पनि यसलाई गम्भीरताका साथ लेओस् भनेर गम्भीरताका यो विषयलाई उठायौ । सचिवहरूले पनि यसलाई गम्भीरतापूर्वक लिएको नै महसुस भएको छ ।’

झुलाघाटदेखि चिवा भन्ज्याङ्सम्मको मध्य पहाडी क्षेत्रमा गरेको सङ्कल्प यात्राबाट प्राप्त ७ सय ७३ वटा माग र सुझावहरू एमालेले माघ ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको मागपत्रबारे प्रधानमन्त्री दाहालले सुझावहरू सरकारका लागि निकै महत्त्वपूर्ण दस्ताबेज हुनुका साथै कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने बताएका थिए । त्यसबारे सकारात्मक कुरा भएको पनि सचेतक गिरीले जानकारी दिएका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीले पनि नेकपा एमालेले सरकारलाई बुझाएको सुझाव  सरकारका लागि निकै महत्त्वपूर्ण दस्ताबेज हुनुका साथै नीति, बजेट, सुशासनका एजेन्डाहरू बनाउने सन्दर्भमा मार्ग दर्शन बन्न सक्ने भन्नुभएको थियो । यसलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने कुरा भएको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस