त्रिविका उपकुलपति छनोटबारे छलफल गर्न संसदीय समितिले बोलायो शिक्षामन्त्री राई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिविका उपकुलपति छनोटबारे छलफल गर्न संसदीय समितिले बोलायो शिक्षामन्त्री राई


२८ माघ २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले बताए ।

त्यस्तै अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे पनि छलफल हुने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयमा तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल पूरा भएको तीन महिना भन्दा बढी भइसकेको छ ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन दिन आह्वान गर्दा ४३ जनाले आवेदन दिएका थिए । सर्च कमिटीले तीमध्येबाट १४ जनाको सर्टलिस्ट बनाएको छ । सर्ट लिस्टमा बौद्धिक चोरीको आरोप लागेका र यसअघि परीक्षण भइसकेका व्यक्ति समेटिएको भन्दै आलोचना भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयसँगै पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि उपकुलपति नियुक्ति गर्ने बेला भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस