भारत भ्रमणबाट फर्कियो संसदीय समितिको टोली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारत भ्रमणबाट फर्कियो संसदीय समितिको टोली


२५ माघ २०८०, बिहिबार


काठमाडौँ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ ।

भारतीय लोकसभाको ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’को निमन्त्रणमा गत १६ माघमा गएको समिति सभापति यादव नेतृत्वको टोली २४ माघमा नेपाल फर्किएको हो ।

यादव नेतृत्वको भ्रमण टोलीमा ८ जना सांसद र चारजना कर्मचारीको सहभागिता रहेको थियो । भ्रमणबाट फर्किएपछि समिति सभापति लगायत भ्रमणदलका सदस्यहरूले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतसँग विधायिका तहमा सम्बन्ध विकास भएको जानकारी दिएका छन् ।

‘दुई देशबीचको सम्बन्धलाई सरकारको तहबाट दुवै देशका संसदको तहमा पनि बढाउने उद्देश्यले समकक्षी समितिको निमन्त्रणमा हाम्रो भ्रमण भएको हो’, सभापति यादवले भने, ‘भ्रमणले संसदको तहमा सम्बन्ध विकसित हुने र आगामी दिनमा नेपालको सरोकारका विषयहरू भारतीय संसदमार्फत सरकारलाई दबाब पुर्‍याउन सहयोग पुग्नेछ । त्यसले नेपालको चासोका मुद्दामा भारत सरकारलाई पनि जिम्मेवार बनाउन सहयोग पुर्‍याउने हाम्रो विश्वास छ ।’

समितिको टोलीले दिल्लीसहित गोवा, महाराष्ट्र र उत्तरप्रदेश राज्यको पनि भ्रमण गरेका थिए । दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर, लोकसभा सभामुख ओम बिरला, ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’ का सभापति पीआर चौधरी, राज्यमन्त्री, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँगसमेत समितिको टोलीले भेट गरेको थियो ।

समिति सभापति यादवले इन्टरेनसनल स्ट्यान्ङि कमिटीका अध्यक्ष पीआर चौधरी र अन्य सदस्यहरूसँग भएको लामो अन्तरक्रियाबाट भारतको संसदीय कार्यप्रणाली बुझ्ने र दुवै संसद्का अभ्यास तथा अनुभव आदानप्रदान गर्ने अवसर मिलेको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस