बग्दादमा अमेरिकी ड्रोन आक्रमण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बग्दादमा अमेरिकी ड्रोन आक्रमण


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । इराकको राजधानी बग्दादमा बुधबार अमेरिकी ड्रोनले कारमाथि आक्रमण गरेको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणमा एक शीर्ष कमाण्डर सहित इरान समर्थित मिलिशिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ । 

पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा शक्तिशाली कताइब हिजबुल्लाहका कमाण्डर र उनका दुई सहयोगी सवार थिए। आकस्मिक सेवा टोली घटनास्थल पुग्नुअघि नै कार जलेर खरानी भएको थियो । यसै क्रममा घटनास्थलमा भीड जम्मा भएको थियो ।

एक अमेरिकी अधिकारीले कताइब हिजबुल्लाहका एक शीर्ष कमाण्डरलाई ड्रोन आक्रमणमा निशाना बनाएको बताए । इराकी अधिकारीहरूका अनुसार मारिएका मध्ये एक जना विसाम मोहम्मद अबु बकर अल-सादी सिरियामा कटाइब हिजबुल्लाहको कारबाहीका कमाण्डर थिए।

जोर्डनको सैन्य आधारमा भएको हमलापछि अमेरिकाले गत हप्ता इराक र सिरियामा इरान समर्थित आतङ्कवादी समूहका दर्जनौँ स्थानमा बमबारी गरेको थियो जसमा धेरै मिलिशिया सदस्य मारिएका थिए । 

क्षेत्रीय तनावका बीच अमेरिकाले फेरि एक पटक ड्रोन आक्रमण गरेको छ । अमेरिकाले जोर्डनमा रहेको सैन्य शिविरमा भएको आक्रमणको लागि इराकको इस्लामिक रेजिस्टेन्सलाई दोष दिएको छ । मारिएका मिलिशिया कमाण्डर इस्लामिक प्रतिरोध संगठनका नेता रहेको अधिकारीहरूले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस