नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आजदेखि


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ । टीयु क्रिकेट मैदानमा खेल बिहान ९:१५ सुरु हुनेछ ।

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्न खोज्नेछ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुआत गर्नेछ ।

नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । रिजन बायाँ हाते बलर हुँदा आज डेब्यु गर्न सक्ने सम्भावना छ ।

उता स्पिनर सूर्य तामाङले आज डेब्यू गर्ने बलियो सम्भावना छ । नेपालले प्रमुख स्पिनरको रूपमा ललितनारायण राजवंशी र सूर्यलाई मैदान उतार्ने सम्भावना छ । तीव्र गतिका बलरमा सोमपाल कामी र रिजन ढकालको सम्भावना छ ।

नेपालले ओपनरमा आज अनिल कुमार शाह र कुशल भुर्तेललाई मैदान उतार्ने सम्भावना छ । प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाएका अनिललाई मौका दिने सम्भावना छ । नियमित ओपनर आसिफ शेखलाई विश्राम दिन सक्छ । तेस्रो नम्बरमा भीम सार्की र देव खनाल मध्य एक खेल्नेछन् ।

कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । पाँचौंमा आरिफ शेख, छैटौंमा पवन सरार्फ र सातौंमा दीपेन्द्रसिंह ऐरी हुन सक्छन् । दीपेन्द्रले बलिङ आक्रमण पनि सम्हाल्नेछन् । दीपेन्द्र, रोहित र सोमपाल नेपालका प्रमुख हतियार हुन् ।

उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने दुबिधा छ । कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन् । बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन । ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन् । उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस