सरकारका एक सय ११ नयाँ अधिकृत दीक्षित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारका एक सय ११ नयाँ अधिकृत दीक्षित


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित चार महिने ३७औँ आधारभूत प्रशासन प्रशिक्षणबाट नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत दीक्षित भएका छन् ।

प्रशिक्षणको समापनका अवसरमा आज आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सेवा भावको विकास गर्दै र भ्रष्टाचारमा संलग्न नभई समाजमा पछि परेका र कमजोर अवस्थामा रहेका जनतालाई केन्द्रबिन्दुमा राखेर सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिइन् । 

उनले सानो रकमको प्रलोभनमा नपरी, कलमको सही प्रयोग गरी, अरु कसैको पछि नलागी, तर अरूलाई आफ्नो पछि लाग्ने बनाई आफ्नो प्रतिभा, क्षमता र कार्यशैलीमा आवश्यक सुधारात्मक विकास गर्न आग्रह गरिन् ।

गत असोज १७ गते शुभारम्भ भएको उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा (लेखा र राजस्व समूह), लेखापरीक्षण सेवा, संसद् सेवा र परराष्ट्र सेवाका प्रशिक्षार्थी अधिकृतका लागि सञ्चालित आधारभूत प्रशिक्षणको आज समापन भएको हो । 

प्रशिक्षणअन्तर्गत लेखा समूहका ८३, राजस्व समूहका १९, लेखापरीक्षण सेवाका सात, संसद् सेवाका एक र परराष्ट्र सेवाका एक गरी १६ महिला तथा ९५ पुरुषसहित एक सय ११ प्रशिक्षार्थी दीक्षित भएका छन् ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सेवा भावको विकास गर्दै राष्ट्रसेवा गर्ने मुख्य जिम्मेवारी कर्मचारीमा रहेको स्मरण गराए । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले विभिन्न सीप र ज्ञानको विकास गरी व्यवहारमा सकारात्मकता ल्याउन शुभकामना व्यक्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस