सुत्केरीको हेलिकप्टरमार्फत उद्धार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार


१९ माघ २०८०, शुक्रबार


किमाथाङ्का(सङ्खुवासभा) । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवै जनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका-३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका-११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो । दुवै जनालाई काठमाडौँ लगिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा नि:शुल्क उद्धार गर्दै आएको छ । 

गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो । अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए। 

त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो । जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस