नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुल्यो « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुल्यो


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण आगामी २०२४ जुन २० देखि २३ सम्म हुने भएको छ ।अमेरिकाको मेरिल्यान्ड राज्य तथा वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल, अमेरिका र दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र चलचित्रहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

अमेरिकाका वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न ’डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ’ग्लोबल पिस फिल्म फेस्टिवल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ ।

महोत्सवका निर्देशक युवाकर राजकर्णिकारका अनुसार अन्तराष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेकामध्येबाट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ ।

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल’ छलफल तथा कार्यशाला समेत हुनेछन् । हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ । कोभिड महामारीका कारण अघिल्ला दुई महोत्सव भने भर्चुअल गरिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस