खुलामञ्चले ‘लिगेसी’ बिर्सिँदैन : प्रजिअ बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खुलामञ्चले ‘लिगेसी’ बिर्सिँदैन : प्रजिअ बस्नेत


१५ माघ २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा खेल मैदान बनाउने तयारी गरेको भन्दै विरोधमा उत्रिएको ‘अकुपाई टुँडिखेल’ अभियानले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र बुझाएको छ ।

अभियानले काठमाडौँ सीडीओ जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै खुलामञ्चमा महानगरपालिकाले वक्रदृष्टि लगाएको बताए । उनीहरूले खुलामञ्चलाई शासकहरूले मास्दै आएको र केही जग्गा पनि महानगरले सक्न लागेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा सीडीओ बस्नेतले महानगरपालिकाले खुलामञ्च बिगार्ने मनसाय नभएको जवाफ आएको सुनाएका थिए ।

‘बिगार्न लागेको होइन, अहिले भइरहेको माटो निकालेर ग्रिनरी बनाउने भनेर जानकारी आएको छ । बिहान–बेलुका खेल्न मिल्ने गरी मैदानलाई हरियाली गरेर खुला स्थान नै बनाउने भन्ने महानगरको मौखिक जानकारी छ,’ बस्नेतले भने ।

सीडीओ बस्नेतले काठमाडौँमा जनघनत्व बढिरहेको भन्दै पर्याप्त खुला स्थान हुनुपर्ने बताए । उनले काठमाडौँमा सार्वजनिक कार्यक्रम गर्ने स्थान नै नभएको भन्दै सडक बन्द गरेर आमसभा गर्नुपर्ने अवस्था रहेको बताए ।

‘देशैभरिको माग लिएर आन्दोलन गर्ने ठाउँ राजधानी नै हो । तर, यसका लागि ठाउँ छैन । सडक नै बन्द गरेर आमसभा गर्नुपरेको छ, खासमा खुला स्थान नै नभएर हो,’ बस्नेतले भने, ‘महानगरपालिकाले खुलामञ्च छिट्टै मर्मत गरेर खुलामञ्च आफ्नो लिगेसी अनुसार आफ्नो आवाज राख्ने ठाउँ बनाउने छ भन्ने हामीलाई विश्वास छ । खुलामञ्चबाट नै राजनीतिक आवाज, परिवर्तनको आवाज आएको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस