प्रदेश लोक सेवा आयोगद्वारा १३ सय बढी कर्मचारी भर्ना सिफारिस « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रदेश लोक सेवा आयोगद्वारा १३ सय बढी कर्मचारी भर्ना सिफारिस


१० माघ २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेशको लोक सेवा आयोगले तीन वर्षको अवधिमा १ हजार ३७७ जना कर्मचारी भर्नाका लागि सिफारिस गरेको छ । प्रदेशको निजामती कानून निर्माण नहुँदा कर्मचारी भर्ना गर्न नसकेको आयोगले स्थानीय सरकारी सेवामा उनीहरुलाई परीक्षा लिएर भर्नाको सिफारिस गरेको हो ।

आफ्नो चौथो वार्षिकउत्सव अवसरमा आयोगले आर्थिक वर्ष २०७८-७९ मा २८० जना, २०७९-८० मा ४०९ जना र २०८०-८१ को हालसम्म ६८८ जनालाई सरकारी सेवामा सिफारिस गरेको जनाएको छ । आयोगका सचिव बाबुराम खतिवडाका अनुसार सिफारिस भएकामध्ये अधिकांश प्राविधिक क्षेत्रका जनशक्ति छन् ।

उनका अनुसार प्राविधिकतर्फ अधिकृत ५९ जना र सहायक १ हजार ३ जना तथा अप्राविधिकतर्फ अधिकृत स्तरका ६१ जना र सहायक स्तरका २५४ जना छन् । २०७६ माघ ९ गते स्थापना भएको प्रदेश लोक सेवा आयोगले २०७७ चैतदेखि विज्ञापन गरी कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको थियो ।

आयोगका अनुसार परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएकामध्ये कोशी प्रदेशका ४४२ जना छन् । मधेश प्रदेशका ३५७ जना, बागमति प्रदेशका ९६ जना, गण्डकी प्रदेशका ४६ जना, लुम्बिनी प्रदेशका १३८ जना, कर्णाली प्रदेशका १६५ जना र सुदुरपश्चिमका १३३ जनालाई सिफारिस गरिएको जनाइएको छ । आयोगको वार्षिकोत्सवमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मुलुकको विश्वासिलो संस्था लोकसेवा आयोग भएकोले यसले आफ्नो गरिमा कायम राख्नुपर्ने बताए ।

मुख्यमन्त्री केदार कार्कीले आयोग स्वतन्त्र र जनताको विश्वासिलो संस्था भएको भन्दै कोशी प्रदेश सरकारले झेलिरहेको कर्मचारी अभाब टार्न आयोगले चाँडै कर्मचारीहरुको पदपूर्ति गर्नुपर्ने सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस