खाद्य प्रविधि कार्यालय हेटौँडाका प्रमुख डा. श्रेष्ठमाथि कुटपिट, एक जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खाद्य प्रविधि कार्यालय हेटौँडाका प्रमुख डा. श्रेष्ठमाथि कुटपिट, एक जना पक्राउ


८ माघ २०८०, सोमबार


काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख डा. क्षितिज श्रेष्ठमाथि कुटपिट भएको छ । कार्यकक्षमै रहेका बेला श्रेष्ठमाथि आइतबार दिउसो कुटपिट भएको हो । 

कार्यालय सहयोगी शोभा पोडेका श्रीमान् रमेश पोडेले श्रेष्ठमाथि कुटपिट गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले जानकारी दिए । कार्यालय सहयोगी शोभालाई करार सेवाबाट निकालेको लगायतको आरोपमा श्रेष्ठसँग कार्यकक्षमै विवाद भएको बताइएको छ । सोही विवादमा पोडेका छोरा आमा लगायतका चार जनाले श्रेष्ठमाथि कुटपिट गरेको प्रजिअ सेडाईले बताए ।

आफूमाथि कार्यकक्षमै कुटपिट भएको भन्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. श्रेष्ठले पोडेसहित ४ जनाविरुद्ध जाहेरी दिएको प्रमुख जिल्ला अधिकारी सेडाईले बताए । 

श्रेष्ठले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी उजुरी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रणको केन्द्रिय कार्यालयमा घटनाबारे जानकारी गराई सकेका छन् । 

प्रहरीले आरोपित पोडेलाई आइतबार नै पक्राउ गरेको भने अरु तीन जना फरार रहेका सेडाईले बताए । आरोपित पोडेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति पनि लिएको छ । 

 पोडेकी श्रीमती शोभाको करार सम्झौता गत असोजमै सकिएको जनाइएको छ ।  फरार अन्य ३ जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस