एपीएफलाई हराउँदै शीर्ष स्थानमा उक्लियो पुलिस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एपीएफलाई हराउँदै शीर्ष स्थानमा उक्लियो पुलिस


८ माघ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत उपाधि दाबेदार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिस क्लबसँग हार व्यहोरेको छ । सोमबार भएको खेलमा पुलिसले एपीएफलाई ५८ रनले पराजित गर्‍यो ।

एक सय ४६ रनको लक्ष्य पाएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो । पुलिसका ललित राजवंशी एक्लैले ५ विकेट लिए । रसिद खानले २ र सागर ढकालले एक विकेट हात पारे । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २५ रन बनाए । अमर रौटेलाले २३ र प्रज्वल शाहीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कप्तान रोहित पौडेल र विकेटकिपर लोकेश बमले खाता खोल्न सकेनन् । प्रदीप ऐरीले ४, पुरन विकले १ र सुमित महर्जनले २ रन मात्र बनाउन सके । भुवन कार्कीले ४ रन मात्र जोड्न सके । ललितले ८ ओभरमा ४ मेडन राखेर ८ रन मात्र खर्चिएका थिए । त्यसअघि पुलिसले ४१ ओभरमा सबै विकेट गुमाएर एक सय ४५ रन जोडेको थियो । पुलिसका लागि दिलीप नाथले ४४, अर्जुन साउदले ३१ र शंकर रानाले २२ रन बनाएका थिए ।

। जितसँगै पुलिस ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक भएको बागमती प्रदेश दोस्रो स्थानमा छ । तीन खेल खेलेको सुदूरपश्चिमको ६ र ५ खेल खेलेको मधेश प्रदेशको पनि ६ अंक छ । एपीएफले ४ खेलमा २ हार र दुई जितको नतिजासहित ४ अंक जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस