वर्षमान पुनले भने-गणतन्त्रको विकल्प वंशतन्त्र स्वीकार्य हुन सक्दैन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वर्षमान पुनले भने-गणतन्त्रको विकल्प वंशतन्त्र स्वीकार्य हुन सक्दैन 


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् ।

गृहजिल्ला रोल्पाको घर्तीगाउँमा शुक्रबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै पुनले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्रको विकल्प वंश परम्परामा आधारित निरङ्कुशतन्त्र हुन नसक्ने बताए । गणतन्त्र र लोकतन्त्रको विकल्प अझै राम्रो र परिस्कृत लोकतन्त्र वा गणतन्त्र मात्र हुन सक्ने उनको भनाइ थियो ।

‘जनता आफैँले आफ्ना धेरै राम्रा छोराछोरीमध्येबाट आफ्नो प्रतिनिधि चुन्ने व्यवस्था लोकतन्त्र हो । यस्तो उन्नत विकल्प छोडेर जस्तो भए पनि राजाको जेठो छोरा नै राजा हुनुपर्ने, छोरी पनि नहुने वंशतन्त्र र वा परिवारतन्त्रको विकल्प जनताका लागि स्वीकार्य हुन सक्दैन’, पुनले भने, ‘पार्टीहरूको विकल्प पार्टी नै हो । नेताहरूको विकल्प असल नेता हो । लोकतन्त्रको विकल्प लोकतन्त्र र गणतन्त्रको विकल्प अझै राम्रो र परिमार्जित गणतन्त्र मात्र हो ।’

पुनले मूलधारका राजनीतिक दलहरू र नेताहरूले जनतासँग संवाद गर्नुपर्ने र गल्ती गरेको भए सच्याउन तयार नहुनुपर्ने पनि बताए । नेताहरूले जनतासँग समस्या, कमजोरी र उपलब्धी सबै बताउनुपर्ने उनको भनाइ थियो । लोकतन्त्रमा जनता र नेताबीच संवाद नभए असन्तुष्टि बढ्ने चर्चा गर्दै उनले अहिले जनतामा असन्तुष्टि र नकारात्मकता बढ्नुमा नेता र जनताबीचको संवादहीनता पनि एक कारण रहेको औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस