गठबन्धनका सीमा र अवस्थाका कारण जनअपेक्षा अनुसार काम गर्न सकिएन : माओवादी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गठबन्धनका सीमा र अवस्थाका कारण जनअपेक्षा अनुसार काम गर्न सकिएन : माओवादी


३ माघ २०८०, बुधबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनका सीमा र अवस्थाका कारण चाहनाअनुसार काम गर्न नसकिएको माओवादीको निष्कर्ष छ।

पार्टी कमिटीमा अध्यक्ष ‘प्रचण्ड’ र महासचिव देव गुरुङले हालै सर्कुलर पठाउँदै सरकारले चालेका भ्रष्टाचार, भू–माफिया, तस्कर, मिटरव्याजीलगायतलाई गरिएका धक्कामूलक कारबाहीले आमजनतामा सकारात्मक प्रभाव बढेको निष्कर्ष निकालेको हो ।

सर्कुलरमा भनिएको छ, ‘आगामी आर्थिक वर्षको सरकारको नीति, योजना, बजेट र कार्यक्रमलाई गुणात्मक ढङ्गले परिवर्तन गर्ने गरी जनमुखी, उत्पादनमूलक र रोजगारी वृद्धि गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई दृढतापूर्वक अगाडि बढाउन खोजिएको छ ।’

बाह्य अर्थतन्त्रमा व्यापक सुधार, विदेशी मुद्राको सञ्चिती व्यापक ढङ्गले वृद्धि भएको, शोधान्तर स्थिति बचतमा रहन गएको, विप्रेषणमा दिनानुदिन वृद्धि भएको, पर्यटन आगमन लक्ष्यअनुसार नै १० लाखभन्दा बढी विदेशी पर्यटकहरूको आगमन भएको उल्लेख छ ।

आन्तरिक अर्थतन्त्रमा क्रमशः सकारात्मक सुधार हुन थालेको, राजस्व बढ्न थालेको, समयमै मल र बीउको व्यवस्थापन गरिएकाले धान उत्पादनमा गुणात्मक वृद्धि भएको, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकको भर्खरै प्रकाशित आर्थिक प्रतिवेदन अनुसार विश्वको समग्र आर्थिक परिस्थितिभन्दा नेपालको आर्थिक स्थिति तुलनात्मक रूपमा राम्रो रहेको निष्कर्ष रहेको पनि उल्लेख छ ।

प्रधानमन्त्रीको भ्रमणपछि दातृ निकायहरू नेपाललाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै समग्र परिस्थिति सकारात्मक दिशातर्फ अगाडि बढिरहेको माओवादी अध्यक्ष तथा महासचिवको निचोड रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस