काठमाडौँ । होटेल संघ नेपाल (हान)ले भोलि माघ २ गते काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको छ । संघले एक विज्ञप्ति जारी गर्दै संघ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
दिवसका अवसरमा होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरूका साथै चुनौतीबारे प्रस्तुति रहने संघको भनाइ छ । ५८ वर्षअघि माघ २ गते स्थापना भएको संघले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई-लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।
दिवसका अवसरमा सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशभरका होटेल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने संघको भनाइ छ ।







