लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत


१ माघ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेलमै जित हात पारेको हो ।

दोस्रो खेल खेलेको लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले हराएको थियो ।

सिद्धार्थनगर रङ्गशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४८।४ ओभरमा अलआउट हुनुअघि एक सय ५८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २९.३ ओभरमै केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो ।

सुदूरपश्चिम प्रदेशका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान शेर मल्लले अविजित ४२ रनको योगदान गरेका थिए । उनले ४४ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । नारायण जोशीले पनि टोलीका लागि अविजित २८ रनको योगदान गरे । उनले ३० बलमा चार चौका प्रहार गरे ।

ओपनर ब्याट्सम्यान खड्क बोहराले २१ रन बनाएका थिए । अर्का ओपनर टेक रावत १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नरेन भट्टले पनि टोलीको खातामा १२ रन थपे । कप्तान राजु रिजाल भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।

किरण ठगुन्नाले १६ रन बनाए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा २२ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर अभिषेक गौतमले तीन विकेट लिए । अजय चौहान र कृष्ण कार्कीले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि लुम्बिनी प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान प्रज्ज्वल थापाले ४२ रनको योगदान गरेका थिए । उनले ६८ बलको सामना गरी चार चौका पनि हिर्काए । मोहम्मद हुसैनले पनि २६ रन बनाए । ओपनर विराट भण्डारीले टोलीको खातामा २३ रन थपे ।

अर्का ओपनर सम्राट् भुसाल भने नौ रनमै पेभेलियन फर्किए । मृनाल गुरुङले १४ रन जोडे । कृष्ण कार्की १२ रनमा अविजित रहे । दिल्साद अलीले १० रन बनाए । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा पनि १८ रन पाएको थियो ।

सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले तीन विकेट लिए । भोजराज भट्ट र नरेन साउदले पनि दुई–दुई विकेट लिए । मिलन बोहराले एक विकेट हात पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस