मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई कर्मचारी कोटामा विदेश जान रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई कर्मचारी कोटामा विदेश जान रोक


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरूलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले लिखित निर्देशन दिएको हो ।

सतर्कता केन्द्रका सूचना अधिकारी हरि प्रसाद शर्माका अनुसार मन्त्रीहरूले कर्मचारीको कोटामै आफ्ना स्वकीय सचिवालयका कर्मचारी लैजान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र आयोगले यसबारे आवश्यक कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाएको थियो ।

२०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुरूप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरू र सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयलाई निर्देशन दिइएको शर्माले बताए । 

उनले भने, ‘कर्मचारीहरूको कोटा खोसेर अरूलाई नलैजान भनेका हौँ, जसको लागी कोटा आएको हो उसैलाई जान निर्देशन दिएका हौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस