सकारात्मक मनोवृत्तिका साथ अघि बढ्न सके समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सकारात्मक मनोवृत्तिका साथ अघि बढ्न सके समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्र विन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन् ।

‘म बदलिन्छु अनि मेरो देश बदल्छु ।’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर सङ्कलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उनले भने, “यस अभियानले स्वभाविकरूपमा समाजमा चेतना फैलाउने छ, समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने छ ।” अधिकार र कर्तव्यलाई एकै साथ लिएर जान नसकेकाले सबै किसिमको समस्या आउने गरेकाले युवा वर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए ।

त्यस अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनासहित आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

नक्सालस्थित नारायण चौरबाट फोहर सङकलन गर्दै सुरु भएको उक्त दौड अभियान नाग पोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायण चौरमा पुगेर सम्पन्न भएको थियो ।

दौडमा प्रथम हुनेलाई रु. ५० हजार, द्वितीय हुनेलाई रु. २५ हजार, तृतीय हुनेलाई रु. १५ हजार तथा चौथो हुनेलाई रु. पाँच हजार पुरस्कारसमेत प्रदान गरिएको थियो । दौड अभियानमा नेपाल प्रहरीका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस