प्रधानमन्त्री, देउवा र ओली शीतल निवास बोलाएर राष्ट्रपतिले गरे छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री, देउवा र ओली शीतल निवास बोलाएर राष्ट्रपतिले गरे छलफल


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दा बल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गरेका छन् । 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज शीतल निवासमा सङ्घीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले राजनीतिक दलहरूले आफूहरूले मिलेर ल्याएको सङ्घीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुन पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरूको ध्यानाकर्षण गराएका थिए । 

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिमा क्षमतावान् प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान शुरु गर्न पनि ध्यानाकर्षण गराएका थिए । राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रूपमा लिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस