भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर योजना तर्जुमा गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर योजना तर्जुमा गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल


२२ पुस २०८०, आइतबार


काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औँ योजना तर्जुमा गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बाल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन् । उनले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औँ योजना तर्जुमा नभए योजना निर्माणको काम पुरानै रूपमा चल्ने बताए । उनले मुलुकको वर्तमान अवस्था र आवश्यकताअनुरूप १६ औँ योजना तर्जुमा नभए अपेक्षा गरे अनुसारको नतिजा आउन नसक्ने उल्लेख गरे ।

पूर्वअर्थमन्त्री पौडेलले योजना निर्माण गर्दा स्रोत व्यवस्थापन महत्त्वपूर्ण पक्ष भएको भन्दै स्रोत भन्दा बाहिरको योजनाको अर्थ नहुने बताए । उनले नेपालमा सीमित स्रोत र असीमित आवश्यकता भएकाले सोही आवश्यकताका आधारमा धेरै प्रतिफल पाउने गरी योजना बनाउनुपर्नेमा जोड दिए ।

उनले स्रोत व्यवस्थापन र आयोजना व्यवस्थापनबीचमा रहेको खाडललाई पूरा गर्नेगरी योजना निर्माण गरिनुपर्ने बताए । राजश्व सङ्कलन कम भइरहेकाले सरकारले साधारण खर्च धान्न नसक्ने अवस्था रहेको बताए । उनले योजना आयोगले योजना बनाउने र हटाउने विषयको अन्त्य हुनुपर्ने उल्लेख गरे ।

पूर्वअर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोग योजना निर्माणको निर्णायक निकायका रूपमा स्थापित हुन नसकेको बताए । उनले मुलुकको योजना निर्माणको निर्णायक निकाय योजना आयोग हो भन्ने किसिमले योजना तर्जुमा गर्न सुझाव दिए । उनले योजना आयोगले बनाएका योजना नै निर्णायक हुन्छ भन्ने विश्वास बढाउन नसकेको बताए ।

उनले सरकारका नीति कार्यक्रम र स्रोत एकतिर र बजेट अर्कोतिर हुने गरेको बताए । पौडेलले योजना आयोगले सही ठहर्‍याएको योजना अघि बढ्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए । उनले बजेट निर्माणमा समान्य सहभागिताको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस