सहकारीको ४३ करोड हिनामिना गर्ने कर्मचारीसहित १९ जना दोषी ठहर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहकारीको ४३ करोड हिनामिना गर्ने कर्मचारीसहित १९ जना दोषी ठहर


११ पुस २०८०, बुधबार


काठमाडौँ । नेपालगन्जको एक सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ।

नेपालगन्जको सदरलाईनमा रहेको ‘सहकारी वित्तीय विकास संस्था लिमिटेड’ को ४३ करोड रुपैयाँ हिनामिना (अपचलन), ठगी र सङ्गठित अपराध गरेको अभियोगमा ४१ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।

करिब ४ वर्षपछि बाँके जिल्ला अदालतले मुद्दाको फैसला गरेको हो। अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले बुधबार ‘कसुर कायम आदेश’ जारी गरेको अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिए। कुल ४१ जना प्रतिवादी मध्ये १९ जनामाथि ‘कसुर ठहर’ भएको अदालतले जनाएको छ । 

अदालतका अनुसार कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारीहरू रहेका छन्।

अदालतले गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सुर्यबहादुर बिक, लिला भन्ने लिलाप्रसाद वली, किरण श्रेष्ठ, गौरवकुमार श्रेष्ठ, शुरतराम खटिक, बलराम यादव, शारदाकुमारी थापामगर, सिद्धिकुमार महर्जन, अम्बरबहादुर खड्का, हरदेवबक्स चौधरी, रबिन्द्र थापा, स्थिरमणि बज्राचार्य, तुसार शाह, सन्धि भन्ने सन्दीप शर्मा, लिला शाह र ओमप्रकाश चौधरीलाई दोषी ठहर गरेको हो। कसुर ठहर भएका प्रतिवादीका लागि एक महिनाभित्र अर्को पेशी तोकेर सजाय निर्धारण गरिने जनाएको छ।

कसुर ठहर भएका प्रतिवादीहरूको हकमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ अनुसार सजाय निर्धारणको लागि छुट्टै सुनुवाइ गर्नुपर्ने देखिएको र सो प्रयोजनको लागि जिल्ला सरकारी वकिल कार्यालय बाँके र प्रतिवादीका कानुन व्यवसायीलाई सजाय पूर्वको प्रतिवेदन ७ दिनभित्र पेश गर्न अदालतले आदेश दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस