स्वदेशी र विदेशी लगानीकर्ताले गरे एक खर्बको लगानीको प्रतिबद्धता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वदेशी र विदेशी लगानीकर्ताले गरे एक खर्बको लगानीको प्रतिबद्धता


११ पुस २०८०, बुधबार


काठमाडौँ । स्वदेशी तथा विदेशी लगानीकर्ताले गत आर्थिक वर्ष २०७९/८० को वर्षभरिमा दुई खर्ब १४ अर्ब रुपैयाँको लगानीको प्रतिबद्धता गरेपनि चालु आवको पाँच महिनाको अवधिमा भने झण्डै एक खर्ब रुपैयाँको प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा स्वदेशी र विदेशी लगानीकर्ताले ९४ अर्ब ९३ करोड रुपैयाँको लगानी गर्ने प्रतिबद्धता गरेका छन्।

जबकी गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा विभागमा ३२२ वटा उद्योग दर्ता भएर दुई खर्ब १४ अर्ब लगानीको प्रतिबद्धता आएको थियो। चालु आवको पाँच महिनाको अवधिमा स्वदेशी र विदेशी लगानीकर्ताले १७२ उद्योगका लागि सो ९४ अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता गरेका हुन्।

विभागका अनुसार चालु आवको ५ महिनासम्मको अवधिमा प्रतिबद्धता जनाएका उद्योगले १२ हजार सात सय ६७ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षभरिमा ८० वटा ठूला उद्योग दर्ता हुने लक्ष्य राखेको थियो।

सोमध्ये चालु आवको ५ महिनासम्मको अवधिमा २१ वटा मात्रै ठूला उद्योग दर्ता भएका छन्। त्यसैगरी चालु आवकै वर्षभरिमा ८५ वटा मझौला उद्योग दर्ता हुने लक्ष्य राखिएको छ। तर,मंसिर मसान्तसम्मको अवधिमा भने १४ वटा मात्रै मझौला उद्योग दर्ता भएका छन्। विभागले चालु आवभरिमा दुई सय वटा साना उद्योग दर्ता हुने लक्ष्य राखेको थियो। तर,मंसिर मसान्तसम्मको अवधिमा भने १३७ वटा उद्योग दर्ता भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस