गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त


५ पुस २०८०, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् ।

“पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो”, युनिसेफकी कार्यकारी निर्देशक रसेलले भने, “गाजाका बालबालिकाले ‘थोपा थोपा’ मात्र स्वच्छ पानी पिउन पाएका छन् । यसका कारण बालबालिका र उनीहरूका परिवारले असुरक्षित स्रोतहरूको पानी प्रयोग गरिरहेका छन् जुन अत्यधिक प्रदूषित छ । सुरक्षित पानीको अभावमा आगामी दिनमा अझ धेरै बालबालिका अभाव र रोगका कारण मर्नेछन् ।”

करिब १० हप्ताभन्दा बढी समयदेखि निरन्तर बमबारी भइरहेको घटनापछि मानवीय सतर्कता अपनाइएको हो । गाजा पट्टीको पानी उत्पादन, उपचार र वितरण सञ्जाललाई ठूलो असर पार्ने बमबारीबाट बच्नका लागि १४ लाखभन्दा बढी विस्थापित गाजावासीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएद्वारा सञ्चालित सुविधाहरूमा वा नजिकै आश्रय लिएका छन् ।

युनिसेफका अनुसार दक्षिणी राफा प्रान्तमा हालै विस्थापित बालबालिकासँग दैनिक डेढदेखि दुई लिटर मात्र पानी छ र स्वच्छ खानेपानीको सेवा ‘अवरुद्ध अवस्थामा’ छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बाँच्नका लागि मात्र दैनिक न्यूनतम तीन लिटर पानी आवश्यक पर्छ । पिउने पानीको अभावका कारण लाखौँ विस्थापित भएका र तीमध्ये आधा बालबालिका पनि खाद्यान्न, आवास, औषधि र सुरक्षाको खाँचोमा छन् ।”

युनिसेफले बालबालिकामा झाडापखाला, रोग र कुपोषणको जोखिम बढी हुने भएकोले यस अवस्थाको असर विशेष गरी चिन्ताजनक रहेको चेतावनी दिएसँगै गाजामा आधारभूत पानी र सरसफाइ सेवा प्रदान गर्ने कम्तीमा ५० प्रतिशत सरसफाईका सेवाहरू पनि क्षतिग्रस्त वा नष्ट भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस