बागमती सरकारले सहमतिलाई बेवास्ता गरी अघि बढ्दै छ : एमाले « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमती सरकारले सहमतिलाई बेवास्ता गरी अघि बढ्दै छ : एमाले


४ पुस २०८०, बुधबार


काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारले प्रमुख प्रतिपक्ष दल एमालेसँग गरेको सहमतिको बुँदाहरूलाई बेवास्ता गर्दै अघि बढेको जनाएको छ ।

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई तत्काल सहमति पालन गरी सदन सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे ।

उनले भने ‘सरकारले हामीसँग गरेको सहमतिलाई भुलेर हिँडेको देखिन्छ, यो संसदीय अभ्यासमा राम्रो संकेत हैन, सरकारले प्रतिपक्षलाई बाईपास गरेर जान सक्दैन, यो संसदीय अभ्यासको बर्खिलाप हो ।’

सरकारले विभिन्न बहानामा संसद्लाई छल्ने काम गरिरहेको बताउँदै एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमाथि ९ वटा आरोप लगाएको छ ।

लोकतन्त्रमा सबै क्षेत्रको समानुपातिक विकास निर्माणको सन्दर्भमा आफूहरूले सरकारसँग गरेको सहमति कार्यान्वयनको चरणमा सरकार नगएको बताउँदै उनले सरकार आफैले गरेको प्रतिवद्धतामा अडिग रहन नसकेको आरोप लगाए ।

सरकारले मिनि सांसदको रूपमा रहेको संसदीय समितिहरूमा पदाधिकारी चयनमा ध्यान नदिनु, संसद बैठक बोलाउन आलटाल गर्नु लोकतान्त्रिक मूल्य मान्यताको खिलाप भएको भन्दै नेता थपलियाले तत्काल सदन बोलाउन माग गरे ।

संसदको दोस्रो कार्यकाल सुरु भएको एक वर्ष पुगिसक्दा जम्मा ३८ दिन सदन सञ्चालन हुनु लज्जास्पद विषय भएको एमालेको ठहर छ ।  ।

Tags :
प्रतिक्रिया दिनुहोस