काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक वर्ष सफल भएको दाबी गरेका छन् ।
मङ्गलवार एक कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचारमा सफल भएको दाबी गरे ।
भट्टले भने, ‘नेपाल श्रीलङ्काको बाटोतिर भन्ने हल्लाबीच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कूटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान सञ्चालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।’ आर्थिक सूचक सुधारतिर अगाडि बढेको भन्दै उनले निरासाबाट आशाका किरण देखा परेको उनले बताए ।
सरकार दीर्घकालीन आर्थिक समृद्धिको लागि अगाडि बढेको बताउँदै नेता भट्टले भने, ‘सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरंकुशकालिन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन् । सरकारले विगतको तुलनाभन्दा महँगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।’
सरकारले इजरायल हमासको आक्रमणमा परी ज्यान गुमाउनेको शव स्वदेश ल्याउनेदेखि बेपत्ता विपिन जोशीको रिहाईको लागि प्रधानमन्त्रीकै तहबाट पहल भइरहेको बताए । त्यसैगरी सरकारले भूकम्प पीडितको उद्धार, राहत र पुनर्निर्माणमा समयमै पहल लिएर जनतालाई सरकार भएको अनुभूत गराएको दाबी गरे । अब नयाँ वर्षमा नयाँ गतिका साथ अघि बढ्ने नेता भट्टको भनाई छ । सरकारको अर्को वर्ष विकास र समृद्धको लागि क्रमभंगको वर्ष हुने समेत दाबी गरे ।
पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा दलका नेता समेत रहेका भट्टले पार्टीको जारी अभियान अन्तिम चरणमा पुगेको बताए । उनले यसको समीक्षा गर्न बाँकी रहे पनि अभियानले पार्टी, कार्यकर्ता र जनतालाई जोडेको दाबी गरे ।