औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी छ : ईश्वर पोखरेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी छ : ईश्वर पोखरेल


२ पुस २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्कल्प यात्राको औपचारिक कार्यक्रम सकिए पनि एमालेको सङ्कल्प र योजना जारी नै रहेको बताएका छन् ।

झुलाघाट चिवाभञ्ज्याङ यात्रा समापनपछि उनले जनताका माझमा एमाले सधैँ रहने र जनतासँगको सम्बन्धलाई गाढा बनाइराख्ने बताएका हुन् ।

प्रचुर सम्भावना हुँदाहुँदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयाँ स्तरमा जनतालाई सचेत र सङ्गठित गर्दै समाधानका लागि भूमिका खेल्ने उनले बताएका छन् ।

उनले फेसबुकमार्फत भनेका छन्,‘यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही सङ्कल्पलाई दोहोर्‍याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको सङ्कल्पलाई हामी छिटै नै औपचारिक रूपले सार्वजनिक गर्ने छौँ ।’

शान्तिपूर्ण तरिकाले एमालेले मुलुक र आम जनताका भोगाई बुझ्न जनतामाझ असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको उनले बताएका छन् ।

उनले भनेका छन्,‘सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका बिचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि यस बिचमा नियाल्ने मौका पाएका छौँ । एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ । कुनै पनि विषाक्त तथा मुलुक र नेपाली जनताको हित विपरितका विचार गतिविधिका विरुद्ध एमाले चट्टानी ढङ्गले उभिरहने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस