वीरगन्ज महानगरको पञ्जीकरण शाखालाई लिएर विवाद : प्रमुखले डाँके बैठक, आन्दोलनमा उत्रिए कर्मचारी  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वीरगन्ज महानगरको पञ्जीकरण शाखालाई लिएर विवाद : प्रमुखले डाँके बैठक, आन्दोलनमा उत्रिए कर्मचारी 


२६ मंसिर २०८०, मंगलबार


वीरगन्ज । वीरगञ्ज महानगरपालिकाको पञ्जीकरण शाखा राख्ने कोठालाई लिएर विवाद भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको कोठामा पञ्जीकरण शाखा राख्ने कि उपप्रमुख इम्तियाज आलमको सचिवालय राख्ने भन्ने विषयमा विवाद भएको हो । 

कार्यालयको निर्णय अनुसार पञ्जीकरण शाखा राख्न खोज्दा उपप्रमुखका स्वकीय सचिव शेष हजारले अवरोध गरेपछि विवाद भएको बताइएको छ । स्रोतका अनुसार विवाद भएपछि आइतबार कोठामा ताला लागेको थियो । 

ताला लागेको विषयमा वडाध्यक्षहरूले विरोध जनाउने क्रममा मङ्गलवार विवाद भएको हो । वडा नं. १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ताले उपप्रमुखले दुर्व्यवहार गरेको बताए । तर, उपप्रमुख आलमले कुनै दुर्व्यवहार नगरेको र वडाध्यक्षहरूसँग विवाद पनि नभएको प्रतिक्रिया दिए । उनले भने, ‘हाकिमको कोठा हो । हाकिम नै बस्नुपर्छ भन्ने मेरो मान्यता हो । पञ्जीकरण शाखा राख्ने विषयको विवाद नै होइन ।’ 

पञ्जीकरण शाखा राख्ने बारेमा कुनै निर्णय नभएको उनले बताए । उनले भने, ‘म पनि उपप्रमुख हो । मलाई थाहै नदिई कसरी निर्णय हुन्छ । कसैले घरमा बसेर निर्णय गरेको भए मलाई थाहा भएन ।’ उक्त कोठामा के का लागि प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हाकिम बस्दा नै वेस्ट हुन्छ । सेवाग्राहीलाई हाकिम भेट्न माथिल्लो तलामा जान गाह्रो हुन्छ । माथिल्लो तलामा हाकिम किन जानु पर्‍यो ?’

झडपको स्थिति बनेपछि प्रहरी परिचालन गरिएको थियो । प्रहरी पुगेपछि अवस्था सामान्य बनेको छ । समस्या समाधानका लागि नगरप्रमुख राजेशमान सिंहले बिहीबार बोर्ड बैठक डाकेका छन् । 

महानगरपालिकाका प्रमुखका प्रेस सल्लाहकार महेश दासका अनुसार प्रमुख सिंह केही दिन अघि नयाँ कार्यकक्षमा सरेका थिए । प्रमुख सरेपछि प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष टाढा भएको थियो । सेवाग्राहीको सहजताका लागि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पनि प्रमुखको कार्यकक्ष नजिकै सारिएको थियो । महानगरमा सेवा लिन आउनेको चाप बढेपछि ठूलो कोठाको आवश्यकता महसुस गरेर प्रमुख प्रशासकीय अधिकृतलाई अन्यत्र व्यवस्थापन गरी उनले प्रयोग गर्दै आएको कोठालाई पञ्जीकरण शाखा बनाउन खोजिएको वडा नं. ८ का अध्यक्ष रितेश कुमार गुप्ताले जानकारी दिए । 

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष सारे पनि उनी बस्दै आएको कोठासँग जोडिएको पञ्जीकरण शालालाई व्यवस्थित गर्ने निर्णय भएको थियो । पञ्जीकरण शाखा राख्ने क्रममा उपप्रमुखका स्वकीय सचिवले अवरोध गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृतले खाली गराउन आग्रह गर्दा उनले नमानेका कारण वडाध्यक्षहरूसँग विवाद भएको थियो ।

वडा नं. २१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियार र वडा नं. २४ का वडाध्यक्ष विजय प्रसाद कुर्मीले सेवाग्राहीलाई सहजताका लागि उक्त कोठामा पञ्जीकरण शाखा नै राख्नु पर्ने बताए ।

आन्दोलनमा उत्रने कर्मचारीको चेतावनी

स्थानीय तह कर्मचारी सङ्घ वीरगन्ज महानगरपालिका इकाई समितिले प्रमुख प्रशासकीय अधिकृतमाथि गाली गलौच भएको भन्दै विरोध जनाएको छ । मंसिर २७ देखि २९ गतेसम्म कालोपट्टि बाँधेर विरोध जनाउने सङ्घले जनाएको छ ।

सङ्घले मङ्गलवार महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै चरणबद्ध आन्दोलनमा उत्रन बाध्य भएको जनाएको हो । ‘वीरगन्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा विभिन्न महाशाखा शाखाहरू रहेकोमा जसमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सञ्चालन प्रक्रियामा कोठाहरू साँघुरो भई सेवाग्राहीलाई दिने सेवामा दैनिक रूपमा असहज भएकोले मिति २०८०-०८-२६ गते सेवाग्राहीहरूलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय परिसरभित्र रहेको अर्को भवनमा कोठा व्यवस्थापन गर्ने सम्बन्धमा कार्यपालिका सदस्य कन्हैया ठाकुर लगायत केही अज्ञात समूहहरू समेतले कार्यालयमा आई श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यूमाथि गाली गलौचसहित अभद्र व्यवहार गरेको, सोही शाखामा कार्यरत कर्मचारीद्वय अमृता शाह र रनु दास माथि उप प्रमुखज्यूको स्वकीय सचिव शेष हजारले अश्लील गाली गलौच एवं अभद्र व्यवहार गरेको भनी निजहरूबाट जानकारी प्राप्त हुन आएको तथा कृषि शाखामा कार्यरत कर्मचारी रोशनी यादवमाथि पनि उपप्रमुखज्यूको निजी सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहबाट पटक पटक डर त्रास धाक धम्की, गाली गलौच गरेको भन्ने निज कर्मचारी रोशनी यादवबाट जानकारी प्राप्त हुन आएकोले हामी सम्पूर्ण कर्मचारीहरूको मान मर्दन तथा असुरक्षित भएको महसुस गरेकोले र कार्यालयको कार्य सम्पादन गर्दा अनुकूल वातावरण नभएको हुँदा त्यस्ता व्यक्ति-समूहबाट त्यस्ता घटनाहरू हुन नदिन अनुरोध गर्दै हामी वी.म.न.पा. लगायत ३२ वटै वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरू मिति २०८०-०८-२७ गते देखि २९ गतेसम्म कालो पट्टी बाँधी विरोध जनाउँदै कार्य गर्ने तत् पश्चात् पनि समस्याको समाधान नभएमा चरणबद्ध रूपमा आन्दोलनमा उत्रिन बाध्य हुने ब्यहोरा समेत जानकारी गराउँदै यथाशीघ्र समाधानका लागि अनुरोध गर्दछौँ,’ सङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस