सर्वोच्चमा प्रस्तावित न्यायाधीश ढुङ्गाना र सुवेदीमाथि अपराधका घटनामा संलग्न भएको आरोप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्चमा प्रस्तावित न्यायाधीश ढुङ्गाना र सुवेदीमाथि अपराधका घटनामा संलग्न भएको आरोप


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शारंगा सुवेदीलाई अपराधका घटनामा संलग्न भएको आरोप लागेको छ । 

उच्च अदालतको न्यायाधीश पदमा रहँदा गैरकानूनी फैसला गरेको उजुरीकर्ताहरूले आरोप लगाएका हुन् । 

आइतबार सर्वोच्च अदालतमा प्रस्तावित ६ जना सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध परेको उजुरीमाथिको छलफलमा भाग लिँदै उजुरीकर्ता पुष्पप्रसाद गुरागाईँले संविधान र कानुन विपरीत उच्च अदालत पाटनमा रहँदा ढुङ्गानाले भन्सारको मुद्दा, चमेलियाको मुद्दामा राज्यलाई करोडौँ नोक्सान बनाएर मुद्दा फैसला गरेकाले उनको नाम सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अनुमोदन नगर्न संसदीय समितिका सदस्यहरूलाई आग्रह गरेका छन् ।

अर्का उजुरीकर्ता चिरिञ्जीविभक्त पौडेलको तर्फबाट बोल्दै खडकभक्त पौडेलले राकेशभक्त पौडेल हत्याकाण्डको फैसलामा पीडित पक्षको समेत सुनुवाइ नगरेकाले सारंगा सुवेदीलाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा गरिएको सिफारिस अनुमोदन नगर्न समिति समक्ष आग्रह गरे । उनले ३३ किलो सुन प्रकरणका अभियुक्तलाई रिहा गर्ने फैसला पनि सुवेदीले गरेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतका लागि ढुङ्गाना, सुवेदीसहित ६ जना न्यायाधीश न्यायपरिषद्ले सिफारिस गरेको थियो । उनीहरुविरुद्ध १० वटा उजुरी संसदीय सुनुवाइ समितिमा परेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस