सैन्य सन्धि भएका देश बाहेक अन्यत्र सेनामा भर्ना गर्ने सरकारको नीति छैन : परराष्ट्रमन्त्री  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सैन्य सन्धि भएका देश बाहेक अन्यत्र सेनामा भर्ना गर्ने सरकारको नीति छैन : परराष्ट्रमन्त्री 


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धि भएका देशहरू बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको स्पष्ट पारेका छन् । शुक्रवार बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले रुस–युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव स्वदेश फर्काउन र सुविधा सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताए । उनले कुनै पनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताए ।

उनले रुस जाने र सेनामा भर्ती हुने धेरैजसो विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताए । उनले जुन प्रयोजनले गएको हो त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर ‘एनओसी’ लिनुपर्ने प्रबन्ध मिलाइएको बताए ।

उनले भने, ‘रुसमा नेपालीहरू भर्ना भएको सन्दर्भमा पनि केही साथीहरूले जिज्ञासा राख्नुभएको छ । रुसमा केही नेपालीहरू हताहत भएको बारेमा रुस सरकारले हाम्रो राजदूतावाससँग ‘कन्भर्सेसन’ गरेको छ । कन्भर्सेसनपछि हामीले वक्तव्य दिइसकेका छौँ । हामीले केही परम्परागत सैन्य सन्धि भएका देशहरू भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन । युद्धमा मारिएका जो दिवङ्गत व्यक्तिहरू छन्, उनीहरूलाई नेपाल फिर्ता गर्नको लागि तथा पाउने सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि लेखि पठाइसकिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस