ऋणीको धम्कीप्रति इन्भेष्टमेन्ट मेगा बैंकले भन्यो : सामाजिक सञ्जालको प्रयोग गरेर गलत प्रचार गरियो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ऋणीको धम्कीप्रति इन्भेष्टमेन्ट मेगा बैंकले भन्यो : सामाजिक सञ्जालको प्रयोग गरेर गलत प्रचार गरियो


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भीरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा बास्कोटा कृषि तथा पशुपालन प्रा.लि.का राजेश बास्कोटाले सामाजिक सञ्जालको प्रयोग गरी बैंकविरुद्ध गलत प्रचार गरेको जनाएको छ । 

बैंकद्वारा जारी विज्ञप्तिमा बास्कोटाले बैंकिङ्ग सेवा प्रवाहमा नै अवरोध पुर्‍याउने कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । बैंकबाट ऋण लिएका बास्कोटाले यसअघि बैंकका म्यानेजर राहुल चक्रवर्ती र दिनेश पनेरुलाई अपहरण गर्ने धम्की दिएका थिए ।

सम्बन्धित समाचार : अपहरण गर्ने धम्कीपछि तनावमा बैंकका कर्मचारी

बास्कोटाले बैंकले स्वीकृत गरे अनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिँदै आएको अनुदान रकमबाट वञ्चित गरिएको, बैंकले व्यवसाय नै बन्द गराएको जस्ता आरोप लगाई आफूलाई आत्मदाह गर्न बाध्य बनाइएको भनी बैंक विरुद्ध प्रचारबाजी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बास्कोटाले बैंकको कर्मचारीहरूलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमा नै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काई दिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरी बैंकिङ्ग सेवा प्रवाहमा नै अवरोध पुर्‍याउने कार्य गरेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । 

बैंकले बास्कोटाको दुईवटा कर्जामध्ये एउटा कर्जा पूर्ण रूपमा प्रवाह भइसकेको जनाएको छ । अर्को कर्जा परियोजना आधारित रहेको र आंशिक प्रवाह भएको अवस्थामा कर्जाको सर्तअनुसार ऋणीको परियोजनाको प्रगति नभएकोले स्वीकृत गर्दाका सर्तअनुसार नै थप कर्जा नभएको बैंकले जनाएको छ ।

बैंकले घटनाको बास्तविकताबारे विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

सम्बन्धित समाचार :  बैंकका कर्मचारीमाथि धरपकडको निन्दा

Tags :
प्रतिक्रिया दिनुहोस