करिव दुई सय पालिकामा प्रमुख प्रशासकीयको दरबन्दी रिक्त, मंसिरभित्र खटाउने गरी होमवर्क गर्दै मन्त्रालय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

करिव दुई सय पालिकामा प्रमुख प्रशासकीयको दरबन्दी रिक्त, मंसिरभित्र खटाउने गरी होमवर्क गर्दै मन्त्रालय


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा झन्डै दुई सय स्थानीय तह प्रभावित बनेका छन् । प्रशासकीय अधिकृत नहुँदा एक सय ९० पालिकामा आर्थिक कारोबार, प्रशासनिक बाँडफाँट, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित भएको हो । 

एक सय चार नगरपालिका, ८० गाउँपालिका र ६ उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । प्रमुख प्रशासकीय रिक्त रहेका अधिकांश पालिका निमित्तका भरमा चलेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर महिनाभित्र रिक्त पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने गरी काम भइरहेको जनाएको छ । यसका लागि मन्त्रालयले डाटा कलेक्सनसँगै होमवर्क पनि गरिरहेको छ । चाडपर्वका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन केही ढिला भएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयका एक अधिकारीले भने, ‘अब आउने उपसचिवहरूलाई एकलट स्थानीय तहमा पठाउने गरी मन्त्रालयले तयारी गरिरहेको छ । हामीले त्यही अनुसार डाटा कलेक्सन र होमवर्क गरिरहेका छौँ ।’ 

उपसचिवको दरबन्दी हुने नगरपालिकामा वरिष्ठ शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी तोकेर पठाइएको छ । करिब ५० नगरपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सहसचिव दरबन्दी हुने ११ उपमहानगरमध्ये ६ वटामा उपसचिवलाई जिम्मेवारी दिइएको छ । प्रमुख प्रशासकीय नहुँदा आर्थिक कारोबार नै बन्द हुन्छ । निमित्तलाई आर्थिक अधिकारसहितको जिम्मेवारी दिएर समस्या टालटुल पार्दै आएको छ । कतिपय पालिकामा त निमित्त पनि छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस