विमानस्थल प्रवेश पासमा निगरानी, आवश्यकताको आधारमा मात्र पास इस्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विमानस्थल प्रवेश पासमा निगरानी, आवश्यकताको आधारमा मात्र पास इस्यु


१२ मंसिर २०८०, मंगलबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि जारी हुने पासमा निगरानी बढाइएको छ । अब आवश्यकताका आधारमा मात्र पास जारी हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलभित्रका निषेधित क्षेत्र प्रवेश गर्न जारी गरिएका केही पास दुरुपयोग भएको गुनासो आएपछि कार्यविधि नै संशोधन गरेर नयाँ पास जारी गर्न लागिएको विमानस्थलले जनाएको छ । अनावश्यक व्यक्तिले पास लिन सक्ने भएकाले नियमन गर्न लागिएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । 

विमानस्थलको निषेधित क्षेत्रमा ड्युटी गर्नेका लागि हरेक दुई/दुई वर्षमा पास जारी हुने गर्दछ । यो दुई वर्षको अवधिमा १३ हजार बढी पास जारी भएका छन् । अब डिसेम्बर २०२५ सम्मको लागि पास जारी हुनेछ । 

पास दुरुपयोग नहोस् भन्नका लागि अनावश्यक पास जारी नगर्न निर्देशन दिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यसअघि विभिन्न पेसा व्यवसायमा आबद्ध केही व्यक्तिले हेलिकोप्टरको सेयर होल्डर तथा कर्मचारी भई पास लिएको देखिएपछि कडाई गर्न लागिएको हो । त्यस्ता सेयर होल्डर तथा कर्मचारीको पास कटौती गरिने विमानस्थलले जनाएको छ । अब कहिलेकाहीँ विमानस्थल आउनेका लागि लागि पास जारी हुने छैन ।

‘पहिला पास दिएको व्यक्ति भए पनि अब उनीहरूका नाममा पास जारी नहुन सक्छ,’ प्रवक्ता झाले भने, ‘विगतमा विभिन्न एयरलाइन्सको कन्ट्री म्यानेजर, जनरल म्यानेजर र स्टेशन म्यानेजरलाई समेत पास जारी हुने गरेको थियो । अब आवश्यक व्यक्तिलाई मात्र पास जारी हुन्छ । 

विमानस्थलमा कहिलेकाहीँ निगरानीका लागि आउनेलाई कटौती गरेर विमानस्थलमा ड्युटी गर्ने कर्मचारीलाई मात्र पास जारी गर्ने तयारी छ ।’ विमानस्थलमा काम गर्ने सरकारी तथा निजी सबै निकायलाई विमानस्थलले मागका आधारमा पास जारी गर्छ । विमानस्थलमा भिडभाड तथा सुरक्षा चुनौती देखिएकाले पासमा कडाइ गर्ने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस